
चितवनको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछी सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ ।
यस क्षेत्रमा जङ्गली हात्ती देखिएकाले रातको समयमा एक्लै हिँडडुल नगर्न स्थानीयलाई निकुञ्जले अनुरोध गरेको हो ।
यस क्षेत्रमा विगत एक सातादेखि जङ्गली हात्ती समूहमा देखिन थालेकाले आवश्यक सावधानी अपनाउन स्थानीयलाई अनुरोध गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताउनुभयो ।
उहाँका अनुसार धान पाक्ने समयमा धान खान आएका हात्ती माडी र ठोरी क्षेत्रमा देखिएका हुन् । हात्तीका कारण रातको समयमा हिँडडुल गर्दा मानवीय क्षति हुनसक्ने भएकाले एक्लै नहिँड्न र हिँड्नै परेमा उज्यालो बनाएर, समूहमा तथा चनाखो भएर हिँड्न निकुञ्ज प्रशासनले भनेको छ ।
हात्ती समूहमा छिर्ने र फरकफरक ठाउँमा गएर नागरिकलाई आक्रमण गर्ने, अन्नबाली नष्ट गरिदिने भएको सूचना अधिकारी थापामगरले बताउनुभयो ।
धानखेती भित्र्याउने समयमा समूहमा हात्ती आउँदा स्थानीय त्रसित हुने गरेका छन् । नेपालबाट भारत र भारतबाट नेपालमा समयसमयमा जङ्गली हात्ती आवतजावत गर्ने गरेकाले पनि बस्ती असुरक्षित बनेको उहाँले बताउनुभयो ।
जङ्गली हात्तीलाई लखेट्न निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली परिचालन गरिएको सूचना अधिकारी थापामगरले बताउनुभयो ।
हात्ती भगाउन ढ्याङ्ग्रो ठटाउने, राँको बाल्ने लगायत काम गर्दै आएका र हात्ती हिंस्रक भएमा प्लाष्टिकको गोलीले हवाई फायर समेत गर्ने गरी तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।