काठमाण्डौँ , कात्तिक १२ :

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीका सन्ततिलाई नेपालको कला, संस्कृति तथा भूगोलसँग जोडेर पुर्खाको थातथलोका बारेमा जानकारी दिन र नेपालमा नै लगानी गर्नसक्ने अनुकूल वातावरणको सिर्जना गर्न नेपाल सरकार सधै प्रतिबद्ध रहेको बताउनुभएको छ । 

‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को ‘ग्लोबल’ सम्मेलन तथा स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीसँगको सहकार्य मजबुत बनाउन नेपाल सरकार सदैव तयार रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले गैरआवासीय नेपाली दिवसका अवसरमा सङ्घले वार्षिक साधारणसभाका साथै गैरआवासीय नेपालीहरूको लगानी, गैरआवासीय नेपालीको नागरिकता, प्रवासी नेपालीको मताधिकार, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, महिला तथा युवाका विषयमा छलफल गर्नेगरी आयोजना गरिएको यो ग्लोबल सम्मेलनले सङ्घले उठान गरेका विषयमा नेपाल सरकारलाई नीतिगत सुधारका लागि पृष्ठपोषण हुने सरकारले विश्वास राखेको बताउनुभयो ।

गैरआवासीय नेपालीको यो कार्यक्रमले नेपालमा लगानीको वातावरण रहेको स्पष्ट सन्देश विश्व समुदायमा दिनेछ भन्ने विश्वास व्यक्त गर्दै उहाँले नेपालमा लगानीको वातावरण उपयुक्त रहेको र त्यसका लागि वर्तमान सरकारले आवश्यक सहजीकरण गरी वैदेशिक लगानीमैत्री कानुनी तथा नीतिगत व्यवस्था गरेको बताउनुभयो ।