काठमाडौँ, कात्तिक १३ :

यतिखेर काठमाडौँ काँठ आसपासका किसानलाई धान थन्क्याउन भ्याइनभ्याइ छ ।

फाँटमा धान काट्ने र झाँट्नेहरु हतार हतारमा काम गरिरहेका भेटिन्छन । थोरै भएपनि राजधानीबासीको मागलाई धानिरहेको काँठको धान उत्पादन भने वर्षेनी घट्दै गएको छ । 

धानखेतलाई प्लटिङ गरेर घडेरी बनाउनेहरुको हानथापसँगै परम्परागत धान खेती गर्ने चलन धेरै घटेको किसानहरु बताउँछन । 

जतिले खेती गर्छन उनीहरुको लागि धान रोप्नु र थन्क्याउनु परम्पराको विँडो थामे जस्तो मात्र छ ।

 उनीहरुले बर्षौँ पहिले जसरी धान खेती गर्थे अहिले पनि पारा उस्तै छ । 

गाईबस्तु पाल्न छाडेसँगै रासायनिक मलको प्रयोग बढ्दो छ भने प्लटिङले पानीको मुहान सुकेपछि आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता काँठका किसानहरुलाई छ । तर पनि जसोतसो पुस्तौली पेशालाई यहाँका किसानहरुले निरन्तरता भने दिइरहका छन ।