सल्यान, कात्तिक १४ :

सल्यानमा भएको  मिनी ट्रक दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । 

कपुर कोटको सिनबाङमा सोमबार भएको ट्रक दुर्घटनाका घाइते चालक २६ वर्षीय मान बहादुर भण्डारीको मृत्यु भएको हो । 

यो सँगै मृतकको सङ्ख्या ४ पुगेको छ । अन्य ७ जना घाइते भएका छन् ।

दुर्घटना पछि गम्भीर घाइते भण्डारीलाई कपुरकोट आधारभूत अस्पतालबाट तत्काल रिफर गरिएको थियो । उनको दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

सल्यानको कपुर कोट गाउँपालिका- ६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनी ट्रक हिजो साझ दुर्घटना भएको थियो।

दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय १४ वर्षका गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षकी सिर्जना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जितसागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत र २२ वर्षीय हिक्मत थापा रहेका छन् । 

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।