काभ्रे, कात्तिक १४ :

काभ्रे बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्याएको एक महिना पुरा भएपनि क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेको छैन् ।

गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिरोले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्‍याउनुका साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुऱ्याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ ।
 
घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुनसकेको छैन । स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन् ।

जिल्लाका १३ स्थानीय तहमध्ये रोशी र बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिका अतिप्रभावित क्षेत्रमा पर्छन् । बनेपा र धुलिखेल नगर सङ्कटग्रस्त क्षेत्रमा घोषणा नगरे पनि प्रारम्भिक मूल्याङ्कनका आधारमा जनधनको क्षतिसहित एक अर्बभन्दा बढीको क्षति हुने तहमा परेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा नगरका बैठकमार्फत सरकारलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न अनुरोध गर्दै आएका छन् ।

प्रारम्भिक विवरणहरू आइरहेको र पूर्ण विवरण भने केही हप्तामै आउने प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक उमेश ढकालले बताउनुभयो । 

पीडितलाई थप आर्थिक सहयोग तथा राहतका लागि गत हप्तादेखि नै स्थानीयस्तरमा क्षतिको यकिन विवरण सङ्कलन कार्य सुरु गरिएको उहाँले बताउनुभयो। 

धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जू सहित जनप्रतिनिधिको टोलीले उपप्रधान एवं सहरी विकासमन्त्री तथा गृहमन्त्री समेतलाई भेटेर सङ्कटग्रस्त क्षेत्रमा समावेश गर्न ध्यानाकर्षण गराएका छन भने धुलिखेल खानेपानीको क्षतिमा सहयोग पुर्याउन जर्मन सरकारसँग राजदूतमार्फत सहयोगका लागि अनुरोध गरिएको छ । 

हालैको विपद्ले नगरभित्र पुर्याएको सम्पूर्ण क्षतिको पूर्ण विवरण केही दिनमै सार्वजनिक गरिने नगरप्रमुख ब्याञ्जूले बताउनुभयो ।