नुवाकोट, कात्तिक १४ :

नुवाकोटको विदुर नगरपालिका- ८ स्थित राइसिंबाट म्यागङ गाउँपालिका- ३ गोगने हुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र गरिने भएको छ । 

बागमती मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले राईसिंमा आयोजित कार्यक्रममा कालोपत्रको शुभारम्भ गर्नुभयो ।

ट्रयाक खोलिएको करिब २० वर्षपछि सुरु भएको कालोपत्र कार्यले दुई जिल्लाका ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोड्दै कृषि उब्जनीको बजारीकरण मार्फत अर्थतन्त्र बलियो बनाउन उल्लेख्य योगदान पुग्ने मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गर्नुभयो ।

अहिले विदुर- ८ राईसिंबाट विदुर- १३ हर्कपुर हुँदै गोगनेसम्म १० किलोमिटर सडक मध्ये चालु आर्थिक वर्षमा चार किमी कालोपत्र गर्न लागिएको छ । 

बाँकी रहने थप छ किलोमिटर सहित गोगने हुँदै धादिङको खनियाबास गाउँपालिकासम्म आगामी आर्थिक वर्षमा बजेट सुनिश्चित गरिने मन्त्री तामाङले बताउनुभयो ।

गत जेठ १८ गते भएको सम्झौताअनुसार चार किमी सडक विस्तारका लागि १४ करोड ६१ लाखमा निर्माण कम्पनीले जिम्मेवारी पाएको छ । यो कार्य उक्त कम्पनीले १८ महिनाभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

बहुवर्षीय ठेक्का भएकाले चालु आवमा आठ करोड बजेट विनियोजन भएको छ भने बाँकी रकमसहित तोकिएको गन्तव्यसम्म पुर्याउन अपुग रकम अर्को वर्ष विनियोजन हुने पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख रोशन पाठकले जानकारी दिनुभयो ।