
मेचीनगर नगरपालिका- ११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र बान्तवा राई कतारमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मङ्गलबार नेपाल ल्याइएको बताउनुभयो ।
अभियुक्त राई वि. सं २०७८ मङ्सिर ३ गते पत्नी शर्मिला तामाङ राईको हत्या गरेर फरार भएका थिए । इन्टरपोलले अभियुक्त राईको पक्राउका लागि वि. सं २०८१ जेठ ३२ गते रेड कर्नर नोटिस जारी गरेको थियो ।
हत्या लगत्तै प्रहरीले अभियुक्त राईलाई खोजी गरिरहेको थियो, कतारमा लुकिछिपी बस्दै आएको थाहा पाएपछि इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गराइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दले बताउनुभयो ।
धुलावारी इलाका प्रहरी कार्यालयले कर्तव्य ज्यानसम्बन्धी मुद्दाका अभियुक्त राईमाथि थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।