महोत्तरी, कात्तिक २३ :

डा. ओम फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिकास्थित धमौरामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

शिक्षा तथा समाजसेवी स्व तेजनारायण सिंहको दोस्रो वार्षिक पूण्यतिथिको सन्दर्भमा फाउन्डेसनले शिविर सञ्चालन गरेको हो ।

विशेषज्ञ चिकित्सक, चिकित्सा शास्त्र अध्ययन गरिरहेका विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूको समूहले बलवा नगरपालिकाको ग्रामीण भेगका न्यून आय भएका तथा सीमान्तकृत समुदायका मानिसको मुटुरोग, मधुमेह, उच्च रक्तचाप, कोलस्टोरेललगायतका जाँच गर्नुका साथै अन्य स्वास्थ्य समस्याका बारेमा आवश्यक परामर्श दिएको थियो ।

शिविरमा इको, इसिजी, सुगर जाँच गरी एक महिनासम्मका लागि निःशुल्क औषधि समेत प्रदान गरिएको थियो । शिविरमा स्थानीयवासीलाई खानपान, स्वास्थ्यसम्बन्धी सचेतना गराइएको फाउन्डेशनले जनाएको छ । बुधबार सम्पन्न शिविरमा तीन सय बढीले निशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा आएका ४० वर्ष उमेर समूहका महिलाहरुमा मधुमेहको समस्या देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘उहाँहरूमा मोटोपना थिएन, पारिवारिक पृष्ठभूमिमा पनि मधुमेह थिएन, सामान्य खानपान र स्वस्थ जीवनशैली अपनाएका थिए । तथापि, समस्या देखियो ।’’

शिक्षा तथा समाजसेवी स्वर्गीय तेजनारायण सिंहले आफ्नो जन्मस्थान धमौराको शिक्षा, कृषिको विकास तथा न्यून आय भएका तथा सीमान्तकृत समुदायको आयआर्जन बढाउन विभिन्न क्रियाकलाप गर्नुभएको थियो । 

उहाँले २०२७ सालमा आफ्नै जमिनमा विद्यालय स्थापना गरी दुई दशक बढ़ी व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उक्त विद्यालय हाल जनता राष्ट्रिय उच्च माविका रूपमा सञ्चालनमा छ । सो विद्यालयमा दुई हजार विद्यार्थी अध्ययनरत छन् ।