काभ्रेपलाञ्चोक, कात्तिक २४ :

गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ । 

कात्तिक दोस्रो साता दुई दिन र हिजो बिहीबार गरी दुई पटक अवलोकन- निरीक्षण भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

यसअघि कार्यालय पनि क्षतिग्रस्त सडक पुनःनिर्माणबारे जाइकाको निर्णयको पर्खाइमा थियो । जाइकाको प्राविधिक टोलीद्वारा दुईपटक अवलोकन निरीक्षण भइसकेको र आगामी डिसेम्बर पहिलो हप्तासम्ममा प्रतिवेदन सहित निर्णय आउने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो । 

जाइकाको निरीक्षण- प्रतिवेदनसँगै नेपाल सरकारले पनि पुनःनिर्माणको तयारी गरिरहेको उहाँले बताउनुभयो। 

उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गर्नुभएको थियो । 

जाइकाको प्रतिक्रियाको पर्खाइमा रहेको र डिसेम्बर पहिलो हप्तासम्ममा जाइकाको निर्णय आएपछि निर्माण थालिने इन्जिनियर योगेशले बताउनुभयो ।

जाइकाले निर्माण नगरे करिब दुई महिनाभित्र सडकको पुनः निर्माण गर्न डिभिजन सडक कार्यालयनै सुरु गर्ने उहाँको भनाइ छ । उक्त राजमार्गको सडक पुनः निर्माण गर्न सात अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । 

विपी राजमार्ग (धुलिखेल- सिन्धुली- बर्दिबास) अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खे खोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा रहेको छ ।

केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुने गरी सञ्चालनमा ल्याइएको छ ।