वासिङ्टन, कात्तिक २७ :

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आगामी  प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताउनुभएको छ ।

अठहत्तर वर्षीय रिपब्लिकन उद्योगपतिले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि नै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो कागजातविहीन आप्रवासीहरूको निर्वासन अभियान सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

“म पूर्व आइसिई निर्देशक र सीमा नियन्त्रणका दृढ समर्थक टम होमन हाम्रो राष्ट्रको सीमाको जिम्मेवारीमा (‘बोर्डर जार’ का रूपमा) ट्रम्प प्रशासनमा सामेल हुने घोषणा गर्न पाउँदा खुसी छु”, ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मैले टमलाई लामो समयदेखि चिन्छु र हाम्रो सीमाको प्रहरी र नियन्त्रणमा उहाँभन्दा राम्रो कोही छैन ।”

ट्रम्पले होमनलाई ‘सबै गैरकानूनी विदेशीलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने’ जिम्मेवारी दिइने बताउनुभयो ।

सन् २०२० को राष्ट्रपति निर्वाचनमा हार अस्वीकार गर्नुभएका ट्रम्पले नोभेम्बर ५ को मतदानमा उल्लेखनीय पुनरागमन गर्नुभएको छ । यसले उहाँको कट्टर दक्षिणपन्थी दृष्टिकोणले प्रभुत्व जमाएको एक दशकभन्दा बढी अमेरिकी राजनीतिको सुरुआत गर्ने देखिन्छ ।

आफ्नो चुनावी अभियानमा उहाँले कागजात विहीन आप्रवासीहरू विरुद्ध बारम्बार आक्रोश व्यक्त गर्नुभएको थियो ।

अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनमा वर्षौंदेखि सङ्घर्ष गरिरहेको भए पनि अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने आप्रवासीहरूद्वारा ‘आक्रमण’ भइरहेको दाबी गर्दै ट्रम्पले चिन्ता व्यक्त गर्नुभएको छ ।