
राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजानको बाकु पुग्नु भएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप-२९)मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै आज पुग्नुभएको हो ।
उहाँलाई हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजान सरकारका न्यायमन्त्री फारिद तरुव अहमदोभ लगायतका उच्च पदस्थ पदाधिकारीहरूले स्वागत गर्नुभयो ।
भेटका क्रममा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन भएको र यो सम्मेलनले विकसित देशलाई कार्वन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिवद्धता प्रकट गरेको रकम लगानी गर्न तथा कार्वन उत्सर्जनमा न्यून योगदान गरेर पनि मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्ने बताउनुभएको प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनुसार मन्त्री अहमदोले अहिलेको सम्मेलनको मुख्य विषय नै त्यही भएको उल्लेख गर्दै विकाशसील देशमाथि न्याय गरिनुपर्ने बताउनुभएको थियो ! उहाँले अजरवैजानमा नेपालका जस्ता पहाड़ नभए पनि यहाँका हिमाल पग्लिएर पानीको स्रोत सुकेको जानकारी दिनुभएको थियो !
भ्रमण दलका सदस्य वन तथा वातारण मन्त्री ऐनबहादुर शाही भने यसअघि नै बाकु आइपुगिसक्नुभएको छ ।
कोप–२९ अन्तर्गतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन यही कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने कार्यसूची छ ।
बढ्दो जलवायु चुनौतीको सम्बोधन गर्ने उद्देश्यले बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप-२९) सम्मेलन आजदेखि सुरु भएको छ ।
सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल यही कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।