
अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप- २९) जारी छ ।
सोमबार सुरु भएको उद्घाटन कार्यक्रममा जलवायुले निम्त्याएका समस्याको सामना गर्न विश्व समुदायबीच एकता र सहकार्यको लागि अपिल गरिएको छ ।
मङ्सिर ७ गतेसम्म चल्ने कोपमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रप्रमुख रामचन्द्र पौडेल बाकु पुगिसक्नुभएको छ ।
कोपको उद्घाटन सत्रमा बोल्दै कोप २९ का अध्यक्ष मुख्तार बाबायेभ, निवर्तमान कोप २८ का अध्यक्ष सुल्तान अल जाबेर, संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले जलवायु परिवर्तनको समस्या समाधानमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
कोप २९ का अध्यक्ष बाबायेभले जलवायु परिवर्तनका कारण विश्व नै विनासको मार्गमा पुगेकाले समस्या समाधानमा एकता र सहकार्यमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले जलवायुजन्य समस्या समाधानका लागि र जलवायु जोखिमले ल्याउन सक्ने सम्भावित समस्याहरुको विषयमा एकजुट भएर समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ।
सबै मुलुकहरु नीतिगत मात्रै नभई तोकिएका लक्ष्य पुरा गर्न प्रभावकारी कार्यन्वयनमा जुट्नुपर्ने उहाँको भनाई छ ।
तपाईंले देख्नु नभए पनि, जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमका कारण विश्वका मानिसहरू पीडामा छन्, तिनीहरू कष्ट भोग्दै छन् । अब तिनीहरूलाई केवल सहानुभूति, प्रार्थना वा कागजी प्रक्रिया मात्र होइन, कोप- २९ सबैका लागि नयाँ मार्ग पहिल्याउने अपरिहार्य क्षण हो, अध्यक्ष बाबायेभले भन्नुभएको छ, विश्वमा देखिएको जलवायु परिवर्तनको समस्या समाधान गर्न सबैबाट सहयोग आवश्यक छ ।
निवर्तमान कोप- २८ का अध्यक्ष सुल्तान अल जाबेरले जलवायु समस्या निराकरण गर्न भाषणले मात्रै नहुने बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले कोपमा उपस्थित हरेक मुलुकका राजनीतिक पार्टीहरूले जलवायुका समस्याबाट बाहिर निस्कने उपाय खोज्न आवश्यक रहेकोमा जोड दिनुभयो।
नयाँ जलवायु वित्त लक्ष्यमा सहमति गर्नुपर्नेमा जोड दिदैँ उहाँले कम्तीमा दुई तिहाइ राष्ट्रहरू छिटो उत्सर्जन कटौती गर्न सक्दैनन् भने हरेक राष्ट्रले त्यसको मूल्य चुकाउनु पर्ने उल्लेख गर्नुभयो ।
जलवायु लक्ष्यमा सहमति मात्र पर्याप्त नहुने भन्दै विश्व वित्तीय प्रणालीलाई पुनः परिमार्जन गर्न कोसिस गर्नुपर्ने उहाँको भनाइ छ। आवश्यक राष्ट्रहरूलाई वित्तीय सहयोग दिनुपर्ने र बाकुमै अन्तर्राष्ट्रिय कार्बन बजार सञ्चालनमा ल्याउन, पेरिस सम्झौताको अनुच्छेद ६ लाई अन्तिम रूप दिनुपर्नेमा उहाँको जोड रहेको छ ।
पूर्वनिर्धारित लक्ष्य अनुसार अघि बढ्नै पर्ने भन्दै उहाँले तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
कोपमा भाग लिन बाकु पुग्नुभएका राष्ट्रपति पौडेलका वन तथा वातावरण सल्लाहकार डा प्रमेश्वर पोखरेलले जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधानका लागि कोपले निचोड निकाल्ने बताउनुभयो ।
कोप- २९ मा नेपालले नयाँ जलवायु वित्त लक्ष्यको अपनाउन जोडदार माग गरेको र विश्वव्यापी तापक्रम वृद्धिलाई १. ५ डिग्री सेल्सियसभन्दा तल सीमित राख्ने स्पष्ट मार्गनिर्देशनको आवश्यकता उठाएको जलवायुविद् मञ्जित ढकालले बताउनुभयो ।
नेपाल पर्वतीय प्राथमिकतासँग सम्बन्धित छलफलमा सक्रिय सहभागी रहेको भन्दै पहाडी क्षेत्रमा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न विशेष छलफलको माग गरिरहेको उल्लेख गर्नुभयो ।