काठमाण्डौँ , कात्तिक २८ :

कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ । 

दोहाबाट आएको जहाज दिउँसो पौने ३ बजे भैरहवामा अवतरण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । यस्तै पौने ५ बजे भैरहवाबाट काठमाडौँ र साँझ ६ः ५५ बजे कतारका लागि उडान गर्नेछ ।

यो एयरवेजले कतार- काठमाडौं दैनिक चार वटा उडान भर्दै आएकोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द गरिएपछि दुईवटा उडान कटौती गरेको छ ।

कतारले अब दैनिक दुई उडान काठमाडौँ र एउटा भैरहवाबाट गर्नेछ । कतार एयरवेजको भैरहवाका लागि ३० नोभेम्बरसम्म दैनिक एक उडानको तालिका निर्धारण गरिएको छ ।

कतार एयरवेज सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको सङ्ख्या पाँच पुगेको छ ।

विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजीरा एयर र फ्लाइ दुबईले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् ।

वि. सं २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्‌घाटन भएको थियो ।