
फोटोः एपी
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको शिखर सम्मेलन कोप- २९ मा नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर भएकाले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कोप- २९ मा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकुमा रहनुभएका राष्ट्रपति पौडेलले ट्रेन्ड न्यूज एजेन्सीसँगको कुराकानीका क्रममा जलवायु परिवर्तनका कारण नेपाल जस्ता मुलुकले ठूलो समस्या भोग्नु परेको र विश्वले यस विषयमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले विश्व नै जलवायुसम्बन्धी समस्यामा परेको र यी समस्या समाधानका लागि हामी सबै एकजुट हुनको विकल्प नभएको उल्लेख गर्नुभयो ।
उहाँले कोप प्रेसिडेन्सी ट्रोइकाले तयार पारेको मार्गचित्रमा सहकार्यका लागि नेपाल तयार रहेको तथा हरित विश्वको अवधारणामा आफ्नो ऐक्यबद्धता रहेको समेत स्पष्ट पार्नुभयो । साथै बाकुमा आयोजना भएको यस सम्मेलनलाई सफल पार्न नेपालको पूर्ण सहयोग रहने उहाँको भनाइ थियो ।
कोप-२९ का प्राथमिकता
राष्ट्रपति पौडेलले कोप-२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रुपमा लिएको बताउनुभयो ।
“म यस सम्मेलनमा जलवायुजन्य विपत्तिसँग सम्बन्धित विभिन्न मुद्दामा नेपालको पक्षलाई सशक्त रुपमा प्रस्तुत गर्नेछु र कोपबाट प्राविधिक तथा अनुकूलन उपाय समेत खोजी गर्नेछु”, अन्तर्वार्ताका क्रममा उहाँले भन्नुभयो, “जलवायुसम्बन्धी देखिएका मुद्दामा गहिरो छलफल आवश्यक छ, किनभने यस्तै समस्याका कारण नेपाल केही समय अघि अनपेक्षित र अधिक वर्षाका कारण निकै प्रभावित भएको छ । उक्त प्राकृतिक विपत्तिका कारण दुई सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।”
राष्ट्रपति पौडेलले उक्त प्राकृतिक विपत्तिका कारण कम विकसित र भूपरिवेष्ठित मुलुकले लाखौँ डलरको क्षति बेहोर्नु परेको समेत उल्लेख गर्नुभयो ।
उहाँले विश्वव्यापी रुपमा बढ्दो तापक्रमका कारण हिमालको हिउँ पग्लने क्रम तीव्र गतिमा बढेको र सेता हिमाल काला पहाडमा परिणत हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।
“हिमनदी फुट्न थालेका छन्, जसले प्राकृतिक रुपमा ठूलो विनाश ल्याएको छ, हिमाल भन्दा मुनी बसोबास गरिरहेका मानिसहरुमा यसले गम्भीर खतरा उत्पन्न गराएको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण हिमाल र पहाडमा देखिएको सङ्कट विश्वव्यापी मुद्दा हो । यो नेपाल जस्ता मुलुकको मात्रै नभइ सबैको समस्या हो ।”
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण स्वच्छ पानीको स्रोत सुक्दै गएको बताउनुभयो । जलवायुसम्बन्धी चुनौतीको सामना गर्न नेपालले सीमित स्रोतका बाबजुद पनि उल्लेख्य प्रयास गरिरहेको उहाँको भनाइ थियो ।
राष्ट्रपति पौडेलले नेपालले सन् २०४५ सम्म कार्बन तटस्थता हासिल गर्ने र सन् २०५० सम्ममा कार्बन उत्सर्जनमा कमी ल्याउने लक्ष्यका साथ काम गरिरहेको उल्लेख गर्नुभयो ।
त्यसैगरी, नेपालले सन् २०३० सम्म वनको क्षेत्रफल ४५ प्रतिशतसम्म पुर्याउने लक्ष्य लिएकामा उक्त लक्ष्य हासिल भइसकेको पनि बताउनुभयो ।