
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ यही सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको छ ।
आगामी मङ्सिर ७ गतेसम्म चल्ने उक्त कोप सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहभागिता जनाउनुभएको छ । जलवायुजन्य जोखिम न्यूनीकरण गर्न र मुलुकको समग्र हितका लागि मुख्य ६ एजेन्डालाई उच्च प्रथामिता दिई नेपाली प्रतिनिधिहरु कोपमा उपस्थित भएका छन् ।
जलवायु वित्त, जलवायुजन्य हानी नोक्सानी न्यूनीकरण, कार्वन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा, प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिताका ६ विषयगत कार्यपत्र तयार गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
“नेपालको राष्ट्रिय स्थितिपत्र तयार गरी कोपमा ल्याइसकेका छौँ, यसमा राष्ट्रिय अवधारणापत्र, जलवायु अनुकूलन, जलवायु वित्त, कृषि र खाद्य प्रणाली, स्वास्थ्य र जलवायु परिवर्तन, ऊर्जा सङ्क्रमण, दक्षता, पानी तथा जलवायुजन्य कार्य, जलवायुका लागि प्रकृतिलगायतका विषयवस्तुहरु समावेश गरिएका छन्,” वन तथा वातावरण मन्त्रालयका सहसचिव डा बुद्धि पौडेलले भन्नुभयो ।
गत वर्ष युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा सम्पन्न कोप–२८ मा स्थापना गरिएको जलवायुजन्य हानी–नोक्सानीसम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका पक्षमा नेपालका तर्फबाट दबाब दिने तयारी भइरहेको वन तथा वातावरण मन्त्रालयले स्पष्ट गरेको छ ।
हिमाली मुलुक नेपालले प्रायः अन्तर्राष्ट्रिय सम्मेलनमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको छ । यस सम्मेलनमा पनि नेपालले पर्वतीय मुद्दा नेतृत्व लिएर प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
कोप–२९ ‘क्लाइमेट फाइनान्स’र ‘कार्बन क्रेडिट’ विषयलाई अन्तिमरूप दिने र रकमको स्रोतसमेत निर्धारण गर्ने काम हुने भएकाले यो सम्मेलन जलवायु वित्तका दृष्टिकोणले महत्त्वपूर्ण हुने बताइएको छ ।