काठमाण्डौं, कात्तिक २८ :

हरिबोधिनी एकादशीका दिन आज देशभरका नारायण मन्दिरहरुमा विशेष पूजा गरी यो पर्व मनाइदैछ ।

नारायण मन्दिरहरुमा विशेष मेला समेत लागेको छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइएको छ ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण,भक्तपुरको चाँगुनारायण,ललितपुरको विशङ्खुनारायण,काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लागेको छ ।

वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको छ ।

यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लागेको छ ।