काठमाण्डौँ , कात्तिक २९ :

नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका २८ वटा उद्योगमा बिजुली जोड्ने भएको छ । 

विद्युत् प्राधिकरण सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले बिजुली जोड्ने निर्णय गरेको हो ।

आइतबार मन्त्रिपरिषद् बैठकले बिजुली जोड्ने र १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरका आधारमा बक्यौता महसुल उठाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । 

प्राधिकरणले यही कात्तिक ८ मा डेडिकेटेड र ट्रंक लाइन बापत बिजुली खपत गरी बक्यौता नतिरेको भन्दै २८ उद्योगमा बिजुली काटेको थियो । 

किस्ताबन्दी सुविधा लिएर पहिलो किस्ता तिरेपछि १२ उद्योगमा तिहारअघि नै बिजुली जोडिएको थियो ।

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने क्रममा प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको भन्दै अब क्रमशः बिजुली जोडिने प्राधिकरणका प्रवक्ता चन्दन घोषले जानकारी दिनुभयो ।