कञ्चनपुर, कात्तिक २९ :

उत्तरी ध्रुवमा चिसो बढेसँगै कञ्चनपुर- कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ । 

साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) का सदस्य हिरुलाल डगौराले बताउनुभयो । 

कञ्चनपुर- कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियो टाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ्ररे हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस, ठूलो जलेवा, चखेवालगायत चरा सिमसारमा आएका उहाँले बताउनुभयो । 

विशेषगरी रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान लगायत क्षेत्रबाट आगन्तुक चरा चिसो छल्नका आउने गरेको डगौराले बताउनुभयो । 

आगन्तुक चरा कैलालीको घोडाघोडी ताल, कर्णाली नदी क्षेत्र, कञ्चनपुरको पुरैनी ताल, कालिकिच सिमसार क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका सलगौडी ताल, रानीताल, सिकारीताल, महाकाली, चौधर नदी क्षेत्रमा पुगेका उहाँले बताउनुभयो ।