अजरबैजान, कात्तिक ३० :

अजरबैजानको बाकुमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप- २९)को आज चौथो दिन जारी छ ।

भव्य समारोहका बीच सम्मेलन उद्‌घाटन भएसँगै यही कात्तिक २७ र २८ गतेको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरुले आआफ्ना धारणा व्यक्त गरेका थिए।

‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ शीर्षकको उच्चस्तरीय सत्रलाई राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २७ गते सम्बोधन गर्नुभएको थियो । सम्मेलनमा नेपाली टोलीको नेतृत्व राष्ट्रपति पौडेलले गरिरहनुभएको छ ।

त्यस्तै नेपालले कात्तिक २८ गते सम्मेलनमा छुट्टै उच्चस्तरीय कार्यक्रम गरी जलवायुको असरले निम्त्याएका मौसमी विपत्तिबारे विश्वको ध्यानाकर्षण गराएको छ । राष्ट्रपति पौडेलको नेतृत्वमा सो कार्यक्रम आयोजना गरिएको थियो ।

सम्मेलनमा नेपालसहित अन्य पर्वतीय मुलुकका उच्चस्तरीय प्रतिनिधिहरूले पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनले पुर्याएको असरबारेमा विश्वको ध्यानाकर्षण गराइएको थियो । 

जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकाले जलवायु वित्त व्यवस्थापनका लागि हानी नोक्सानीसमेत समेट्नुपर्ने उहाँहरूको आह्वान थियो ।

राष्ट्रपति पौडेलले प्रकृतिको संरक्षणका लागि विश्व समुदायसँग आह्वान गर्नुभएको थियो । उहाँले जलवायुजन्य सङ्कटका कारण पर्वतीय क्षेत्र असुरक्षित रहेको, हिमालको हिउँ पग्लिएर कालापत्थरमा परिणत हुँदै गइरहेको, हिमताल विष्फोट हुनसक्ने खतरा रहेको जनाउँदै पर्वतीय विषयलाई विश्व समुदायले उच्च प्राथमिकताका साथ लिनुपर्ने उल्लेख गर्नुभएको थियो ।

कीर्गिस्तानका राष्ट्रपति सद्यर जापारोभले जलवायु परिवर्तनका असरले पर्वतीय क्षेत्रका पारिस्थितिकीय प्रणाली र त्यहाँका जनताको जीवनशैलीमा पारेको असरबारे ध्यानाकर्षण गराउँदै यसमा संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको सचिवालयले कार्य योजना बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । 

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराउनुभयो । 

मन्त्री शाहीले निरन्तर बढ्दो तापमान र विश्वभर बढ्दो  जलवायु जन्य घटनाहरू सँगै, नेपालले हालै विनाशकारी प्राकृतिक विपद बेहोर्नुपरेको उल्लेख गर्नुभएको थियो ।

हालैको वर्षा र त्यसका कारण आएको बाढीपहिरोमा परी दुई सय ५० बढीको मृत्यु र धेरै भौतिक क्षति पुर्याएको जानकारी उहाँले गराउनुभएको थियो ।

वन सचिव डा दीपककुमार खरालले  नेपालमा बर्षेनी जलवायुजन्य विपदका कारण हिमालय पग्लने र समुद्रको सतह वृद्धि हुने जस्ता समस्यालाई सँगै मिलेर समाधान गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नेपालले जलवालुजन्य मौसमी विपदबाट भोग्नुपरेका क्षतिबारे विवरण प्रस्तुत गर्नुभयो।

कार्यक्रममा संयुक्त अधिराज्य बेलायत, फ्रान्स, भूटान, कीर्गिस्तान, अजरबैजानलगायत देशका उच्चपदस्थ अधिकारीहरुसहित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) जस्ता विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण विश्वमा पारेको असर, यसका चुनौती र सम्बोधन गर्नुपर्ने पक्षबारे धारणा व्यक्त गरेका थिए ।