काठमाण्डौं, कात्तिक ३० :

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर स्वदेश फर्कने क्रममा दोहा आईपुग्नुभएको छ । राष्ट्रपति  पौडेल  आज साँझ कतारको  दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको हो ।  उहाँलाई कतारस्थित नेपाली दूतावासका कर्मचारीहरूले विमानस्थलमा स्वागत गर्नुभएको थियो । 

उहाँलाई बाकुस्थित  हैदर अलीएभ अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री तेमुर मुसाएभले बिदाइ गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले कोप २९ अन्र्तगत मङगलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्नुभएको थियो । सो अवसरमा उहाँले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गर्नुभयो । “ हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौं, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई संकटमा पु¥याउँछ भन्ने विश्वले बिर्सन हुन्न”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

मंगलबार नै राष्ट्रपति पौडेल र गणतन्त्र माल्दिभ्सका उहाँका समकक्षी डाक्टर मोहम्मद मुइजुसँग बाकुमा भएको भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मारमा हामी दुवै राष्ट्र परेका छौं, तसर्थ यस विषयमा हामीले द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्तामा सहकार्य गर्ने र हाम्राजस्ता देशका लागि वित्तीय तथा प्राविधिक सहयोगका लागि संयुक्त प्रयास गर्नुपर्छ भन्नुभयो ।

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन बुधबार यहाँ  राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । सम्मेलन (कोप–२९) अन्र्तगत नेपालले आयोजना गरेको ‘माउण्टेन इन पेरिल,पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन शीर्षकको उच्चस्तरीय राउण्ड टेबल बैठकलाई उहाँले सम्बोधन गर्नुभयो ।

यस्तै बुधबाार नै राष्ट्रपति पौडेलले किर्गिस्तानद्वारा जलवायु सम्बन्धमा बाकुमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिवी निवारण कार्यक्रमलाई एकिकृतरुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको थियो ।

सोही दिन कोप २९ को सम्मेलन अन्र्तगत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र÷सरकार प्रमुखहरूसँग बाकुमा गर्नुभएको सामुहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनिकरणका लागि विकसित देशहरुबाट अनुदान उपलब्ध गराउन संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसलाई आग्रह गर्नुभयो ।

यस सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’रहेको छ । सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल गएको सोमबार बाकु पुग्नुभएको हो । भ्रमण दलमा प्रथम महिला सबिता पौडेल,वन तथा वातारण मन्त्री ऐनबहादुर शाही,राष्ट्रपतिका विज्ञ÷सल्लाहकार सहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता छ ।

सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल भोली कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।