
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बिहीबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो ।
बैठकले छुर्पीको ‘स्ट्याण्डर्ड’ को प्रक्रिया, असल उत्पादन अभ्याससम्बन्धी कार्यविधि विभागले तयार गरी पेस गर्ने निर्णय पनि गरेको छ ।
सरकारले खाद्य ऐन, २०२३ खारेज गरी ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ नेपाल राजपत्रमा गत वैशाख २३ गते प्रकाशन गरेको थियो । ऐन सार्वजनिक भएको ९१ औँ दिनदेखि लागू हुने व्यवस्था अनुरूप गत साउन १९ गतेदेखि लागू भएको सो ऐनको दफा ५ मा १५ सदस्यीय समितिको व्यवस्था छ ।
समितिका अध्यक्ष एवं कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य पदार्थको स्तर निर्धारणसम्बन्धी प्रावधान, सिफारिस समितिको काम, कर्तव्य अधिकार तथा स्तर निर्धारण प्रक्रियाका बारेमा छलफल भएको थियो ।
बैठकमा छुर्पीको अनिवार्य गुणस्तरको मापदण्ड सम्बन्धमा बुँदागत रुपमा इमेलमार्फत विभागमा प्राप्त भएको सुझाव उपर छलफल गर्दै पेस भएको हो ।