काठमाण्डौँ , मंसिर १ :

गत असारमा टुकुचा खोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ । 

थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिनुभयो । 

पोलियो भाइरस नदेखिएपछि सङ्क्रमित होइन भनेर पुष्टि गरेको उहाँले बताउनुभयो ।

गत असारमा काठमाडौँ महानगरपालिका- १२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाखोला सङ्गमबाट नमूना सङ्कलनपछि परीक्षण गर्दा पोलियो फेला परेको थियो । 

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले टुकुचा खोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमूना सङ्कलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताउनुभयो । 

सन् २०१७ देखि खोप शाखाले ढलबाट नमूना सङ्कलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ । 

काठमाडौँका उपत्यकाका बागमती, धोबीखोला, मनहरा, विष्णुमतीबाट नमूना सङ्कलन गरेर महिनाको दुईपटक यस्तो परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा गौतमले बताउनुभयो । 

काठमाडौँ उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक- एक स्थानबाट नमूना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुनेगरेको छ ।