
भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ ।
अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो ।
सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौँ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्नेगरी पहल सुरु गर्नुभएको थियो ।
अस्पतालका वरिष्ठ प्रशासकीय प्रमुख राजाराम तजलेले क्यान्सर बिरामीको चाप बढिरहँदा बालबालिकामा पनि विभिन्न क्यान्सर रोग बढ्दो रहेको बताउँदै अहिले भक्तपुर क्यान्सर अस्पतालमा करिब ६० जना क्यान्सर रोगका बालबालिका उपचारका लागि आइरहेको बताउनुभयो ।
उहाँले अस्पतालले मन्त्रालयको नीतिअनुसार नै सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको बताउनुभयो ।