काठमाण्डौँ , मंसिर ७ :

बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ । 

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासि विद्युत् चुहावट भएर आगलागी भएको हो । 

आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गर्नुभएको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको प्रभागका सहायक हवल्दार रुद्रप्रसाद गौतमले जानकारी दिनुभयो । 

यसैगरी आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मःम पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि जलेर नष्ट भएको छ । 

आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ । पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो । 

आगो निभाउन काठमाडौँका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।