काठमाण्डौं, मंसिर ८ :

एमालेले शुक्रबार गरेको जागरण सभाको क्रममा दरबारमार्गस्थित सडक तथा सडकपेटीमा जथाभावी  फोहोर गरी वातावरण प्रदुषण गरेको भन्दै  काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।

काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाको हस्ताक्षरमा एमाले पार्टी कार्यालयका नाममा जरिवाना पत्र काटिएको छ ।

सो पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००/०० अक्षरुपी एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’

एमालेले शुक्रबार काठमाडौँको दरबारमार्गमा जागरण सभाको आयोजना गरेको थियो ।

कार्यक्रम सकिएपछि  सडकमा छरिएका फोहोर,पानीको बोतल लगायत फोहोर  महानगरपालिकाको सफाइ  कर्मचारीले सफा गरेका थिए ।