
परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न आजबाट शुल्क तिर्नुपर्ने भएको छ ।
त्यसका लागि स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्क बाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन् ।
यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ ।
यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा रु पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार शुल्क निर्धारण गरिएको छ ।