
नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा आजदेखि प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्त सञ्चार सेवा भवनबाट सुरु भएको छ ।
गोरखा भूकम्पबाट रक्त सञ्चार भवनमा क्षति पुगेपछि नेपाल रेडक्रसले सोल्टिमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको थियो ।
नेपाल रेडक्रसले नेपालमा पहिलो पटक २०२३ साल साउन १२ गते काठमाडौँमा वीर अस्पतालले उपलब्ध गराएको सानो कोठाबाट रक्तसञ्चार सेवा सुरु गरेको थियो ।
वि.सं २०३९ असोज ६ गतेदेखि अष्ट्रेलियन रेडक्रसको सहयोगमा प्रदर्शनी मार्गमा निर्मित भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिनुभयो ।
वि.सं २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पले प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार सेवा भवनमा क्षति पुगेपछि त्यहाँबाट ललितपुरको बालकुमारी हुँदै रेडक्रसको केन्द्रीय कार्यालय ताहचलबाट रक्तसञ्चार सेवा प्रदान हुँदै आएको थियो ।
थाइल्याण्ड सरकारबाट थाई रेडक्रसको सहयोगमा प्रदर्शनी मार्गमा सुविधा सम्पन्न नयाँ केन्द्रीय रक्तसञ्चार सेवा भवन निर्माण गरिएको छ ।