
म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या तीन वर्षदेखि शून्यमा झरेको छ ।
घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो ।
जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलिभरी’ शून्य बनाइएको स्वास्थ्य शाखाका प्रमुख चन्दन सुवेदीले बताउनुभयो ।
बेनी नगरपालिकामा आर्थिक वर्ष २०७८- ७९ मा आठ सय ४७, २०७९- ८० मा छ सय ७७, २०८०- ८१ मा तीन सय ९२ र आव २०८१- ८२ को हालसम्म एक सय ४९ जनाले सुरक्षित प्रसूति सेवा लिएको स्वास्थ्य शाखा प्रमुख सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार आव २०७८- ७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरूको सङ्ख्या शून्य छ । दश वडा रहेको बेनी नगरपालिकामा जिल्लास्तरको अस्पताल, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर र पात्लेखेतको स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । अधिकांश वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा आउने गरेका छन् ।
आठपटक गर्भ जाँच गर्ने तथा स्वास्थ्य चौकीमा नै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति र चेतनामूलक अभियानका कारण होम डेलिभरी शून्य भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।