
काँकडभिट्टा नाकाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । चार वर्षअघि कोरोना महामारीका कारण भारत सरकारले भुटानबाहेकका पर्यटक आवागमन नाका बन्द गरेको थियो ।
यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट आवागमन खुला गरिएको जानकारी भएलगत्तै पर्यटकको आवतजावत सुरु भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले जानकारी दिनुभयो ।
नाका खुला भएसँगै बेलायत, अमेरिका, स्वीट्जरल्याण्डलगायत देशका नागरिक भारतको बाटो हुँदै नेपाल प्रवेश गरेको उहाँले जानकारी दिनुभयो ।
पर्यटकका लागि नाका खुला भएसँगै अब पूर्वमा पर्यटकीय चहलपहल बढ्ने र यसबाट मुलुकको अर्थतन्त्रमा समेत टेवा पुग्ने नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईले बताउनुभयो ।
काँकडभिट्टा झापा जिल्लाको एक महत्त्वपूर्ण व्यापारिक नाका समेत मानिन्छ।