इलाम, मंसिर २० :

माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । 

किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका- ५ स्थित माङसेबुङ (लारुम्बा) मा धार्मिक पर्यटकको घुँइचो लागेको हो ।

किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा  किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् ।

सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले माङसेबुङ यतिबेला भरिभराउ भएको छ । यहाँका सबै होटल र घरबास (होमस्टे) भरिभराउ छ । 

होटल र होमस्टेमा नअटाएका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था गरिएको माङसेबुङ सामुदायिक होमस्टेकी अध्यक्ष कल्पना लिङ्देनले बताउनुभयो । 

धार्मिक उत्सवका बेला सबै घरलाई होमस्टेका रूपमा राख्ने गरिएको उहाँले बताउनुभयो ।

अहिले २० हजार बढी धार्मिक पर्यटक माङसेबुङमा भेला भएको होटल सञ्चालक सुकदल सेलिङले बताउनुभयो ।