
विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतको केन्द्रीय बैङ्कले मुद्रास्फीति जोखिमलाई आधार मानेर शुक्रबार ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।
रिजर्भ बैङ्क अफ इन्डियाले बैङ्कले सन् २०२३ फेब्रुअरीदेखि कायम रहेको महत्त्वपूर्ण ब्याजदर ६.५० प्रतिशतमा यथावत रहने उल्लेख गरेको छ ।
अमेरिकी फेडरल रिजर्भसहित विश्वका प्रमुख केन्द्रीय बैङ्कहरूले कम मुद्रास्फीतिलाई मध्यनजर गर्दै ब्याजदरलाई समायोजन गर्दै घटाउने सहज चक्र सुरु गरेका छन् । फेडले सेप्टेम्बरमा चार वर्षमा पहिलो पटक ब्याजदर कटौती गरेको थियो।
भारतमा खुद्रा सामानको मुद्रास्फीति मौद्रिक नीति निर्माताहरूको चार प्रतिशतको लक्ष्यभन्दा माथि रहेको छ र अक्टोबरमा १४ महिनाको उच्च ६.२१ प्रतिशतमा पुगेको छ ।
आरबीआईका गभर्नर शतीकान्त दासले बैङ्कको मौद्रिक नीति समितिले ‘आर्थिक वृद्धिको गति सुस्त भएको’ कुरालाई ध्यानमा राखेको तर भारतको दृष्टिकोण ‘लचिलो’ रहेको बताउनुभयो ।
दासले प्रतिकूल मौसमी घटनाहरूको बढ्दो घटना, बढ्दो भूराजनीतिक अनिश्चितता र वित्तीय बजारको उतारचढावले मुद्रास्फीतिमा उल्टो जोखिम निम्त्याएको बताउनुभएको छ ।
भारतीय रिजर्व बैङ्क (आरबीआई) ले केन्द्रीय बैङ्कमा निक्षेप गर्न ऋणदाताहरूको न्यूनतम नगद मौज्दात अनुपात ४. ५ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा झारेको छ ।
कम नगद मौज्दात अनुपात तरलता बढाउने उपाय हो किनकि यसले बैङ्कहरूलाई ऋण दिनको लागी अधिक पैसा दिन्छ ।
आर्थिक वृद्धिमा मन्दीको सङ्केत देखिए पनि केन्द्रीय बैङ्कले ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको हो ।