बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद क्रिकेट

जनकपुरलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा

· बुधबार, २७ मंसिर, २०८१ मा प्रकाशित
जनकपुरलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा
काठमाण्डौँ , मंसिर २७ :

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको छ ।

सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर १ बलमा ५१ रनमा अलआउट भयो । एनपीएलमा यो सबैभन्दा कम योगफल हो । यसअघि चितवन राइनोजसँगको खेलमा पोखरा एभेन्जर्स ७४ रनमा समेटिएको थियो ।

जनकपुरका जोशुआ ट्रोम्पले सबैभन्दा धेरै १३ रन बनाए । जनकपुरका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका हरमीत सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले २- २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनायो । सुदूरपश्चिमका विनोद भण्डारीले ३३ रन बनाए । जनकपुर बोल्ट्सका किशोर महतोले ४ विकेट लिए ।

यो जीतसँगै सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले ५ खेलमा ८ अङ्क जोडेको छ । जनकपुरले पनि ५ खेलमा ८ अङ्क जोडे पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

एनपीएलमा आजको दोस्रो खेलमा दिउँसो १ बजे काठमाण्डौँ गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार