
सङ्घीय संसद् अन्तर्गत आज विभिन्न तीनवटा समितिको बैठक बस्दैछन् ।
आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, दिउँसो साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरूका सम्बन्धमा छलफल हुने छ।
छलफलका लागि सम्बन्धित सरोकारवाला विभागका महानिर्देशकहरुलाई आमन्त्रण गरिएको छ ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गर्ने तयारी छ ।