काठमाडौँ, साउन २५ :

कोकिनसहित पक्राउ परेका लाटभियाका नागरिकले खेलौनाभित्र कोकिन लुकाएर ल्याएको पाइएको छ । हातमा बोक्ने सुटकेसभित्र तीनवटा खेलौनामा राखेर दुई सय ९२ क्याप्सुल कोकिन ल्याएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरेको थियो । 

ब्यूरोले आज पत्रकार सम्मेलन गरी छ किलो २४ ग्राम कोकिनसहित उनलाई सार्वजनिक गरेको छ । उनी लाटभियाबाट फ्रान्स हुँदै कतारको दोहाबाट कतार एयरको उडानमार्फत काठमाडौँ आएको अनुसन्धानका क्रममा पाइएको ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । 

बरामद गरिएको कोकिनको अवैध बजार मूल्य करिब रु २१ करोड आठ लाख पर्ने प्रहरीको अनुमान छ । उनीमाथि लागु औषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

नेपाल हुँदै भारत लैजाने उद्देश्यका साथ उक्त कोकिन काठमाडौँ ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । यसअघि प्रहरीले गत असार ३० गते ठमेलस्थित एक होटलबाट पाँच किलो ८२० ग्राम कोकिनसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको थियो ।