
मलेसियामा जारी एसीसी यू- १९ महिला एसिया कप क्रिकेटमा आजदेखि सुपर फोर चरणका खेलहरू सुरु हुँदैछ ।
नेपालले सुपर फोरको पहिलो खेलमा आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समय अनुसार बिहान ११ः ४५ बजे सुरु हुनेछ ।
नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलङ्का भने समूह ए को दुवै खेल जितेर समूह विजेता बनेको थियो ।
भारत र पाकिस्तान जस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको हो।
भारत विरुद्ध दोस्रो खेल भने वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले अङ्क बाँडेका थिए । समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेका हुन्।
समूह ए बाट बङ्गलादेश दुवै खेल जितेर समूह विजेताको हैसियतमा सुपर फोरमा पुग्दा श्रीलङ्काले एक खेल जितेको थियो । पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराएको श्रीलङ्का त्यसपछि बङ्गलादेशसँग पराजित भएको थियो ।