सिरहा, पुस ५ :

सिरहाको सुखीपुर नगरस्तरीय चौथो नगर कप टि- २० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

 ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’ भन्ने नाराका साथ यही पुस ७ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । 

नगर सुधार समिति सुखीपुरको आयोजना र स्थानीय क्रिकेट क्लबको व्यवस्थापनमा प्रतियोगिता हुने समितिका संयोजक भुवन यादवले जानकारी दिनुभयो ।

सुखीपुर नगरका दश वटै वडाले आफ्नो खेलाडी समूह सहभागी गराउने छन् । प्रतियोगिताको लागि अहिले खेल अभ्यास  गराउँदै आएको संयोजक यादवले जानकारी दिनुभयो । 

प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको पहिचान गरिने र उनीहरूको विकासमा नगरले ध्यान दिने नगरप्रमुख रामऔतार यादवले बताउनुभयो ।