
लिजेण्ड प्रोपर्टी ग्रुपले बनाएको जग्गा विकास आयोजनाहरुमा ग्राहकहरुलाई लुम्बिनि विकास बैंकले थप सेवा र सुविधा दिने गरी सोमबार सम्झौता भएको छ ।
बैंकको तर्फबाट बैंकका उप प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेण्ड प्रोपर्टीका तर्फबाट उपाध्यक्ष पुर्ण बहादुर लिम्बुले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
आयोजनाहरुमा लिजेण्ड प्रोपर्टीका ग्राहकलाई लुम्बिनि विकास बैंकले छिटो र सुलभ व्याजदरमा ऋण उपलब्ध गराउनेछ । यसअन्तर्गत ६ वटा जग्गा विकास आयोजना संचालनमा छन् ।
उपाध्यक्ष लिम्बुले बैंकलाई धन्यबाद दिदै पुरानो आयोजना हेलमेटडाडा भक्तपुरबाट सुरु भएको यात्रा आजसम्म पनि निरन्तर रहेको र भविष्यमा थप आयोजनाहरुमा समेत सहकार्य गर्दै देशको शहरी विकासमा मिलेर योगदान दिन सकिने बताउनुभयो।
बैंकका तर्फबाट बोल्दै बैंकका उप कार्यकारी अधिकृत आचार्यले लिजेण्ड प्रोपर्टीले अत्यन्तै राम्रो काम गर्दै आकोमा बधाई दिदै आजसम्मको सहकार्यमा बजारमा जस्तोसुकै कठिनाई र कोरोना जस्तो महामारीको अवस्थामा पनि व्यवसायीले बैंक प्रति निर्वाह गर्नुपर्ने सम्पुर्ण दायित्व पुरा गरेकोमा लिजेण्ड प्रोपर्टी टीमसँग सहकार्य गर्न विश्वास जगाएको मात्रै नभई उत्साह समेत जगाएको बताउनुभयो ।
यी आयोजनाहरुमा सरकारी मापदण्ड पुरा गरेका हुनेछन् । त्यस्तै स्थानीय तहदेखि विभिन्न निकायहरुमा स्वीकृति प्राप्त हुनेछन् ।
सम्झौता कार्यक्रममा बैंकका कर्जा प्रमुख भेषराज गौतम, क्रेडिट सेल्स अफिसर विक्रम गिरी र लिजेण्ड प्रोपर्टीका तर्फबाट प्रवन्ध निर्देशक रविन राई, चिफ ईन्जिनियर दिनेश पोखरेल, बजार प्रमुख उज्वल भण्डारीको उपस्थिति थियो ।
आयोजना काठमाण्डौं उपत्यका भित्र भक्तपुरको पलासे, सिपाडोल,चागुनारायण नगरपालिकाको कलामशे,काठमाण्डौंको दक्षिणकाली नगरपालिका चाङलाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा रहेका छन् । भक्तपुरको पलासेमा रहेको रिखेटार पाखो जग्गा विकास आयोजना २८५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
यस आयोजनाको ८५ प्रतिहत जग्गा बिक्रि भईसकेको छ । सिपाडोलमा रहेको भाइरल जग्गा विकास आयोजन करीब ४ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । यस आयोजनाको पनि ७५ प्रतिशत जग्गा बिक्रि भइसकेको छ । चाँगुनारायण नगरपालिकाको कलामशे जग्गा विकास आयोजना सरकारी प्रक्रिया पुरा गरी बुकिङको लागि खुल्ला गरिएको छ । यो आयोजना ७० रोपनी क्षेत्रफलमा फैलिएको छ ।
त्यसैगरी दक्षिणकाली नगरपालिकाको चाङलाखेलमा निर्माण भईरहेको जग्गा विकास आयोजना सरकारी स्वीकृति प्रक्रियाको अन्तिम चरणमा रहेको छ । यहाँ ६५ रोपनी क्षेत्रफलमा आयोजना निर्माण हुदैछ ।
काभ्रेको बालुवामा रहेको नयाँ गाउँ जग्गा विकास आयोजना करीब २४० रोपनी क्षेत्रफलमा फैलिएको र स्वीकृति र निर्माणको प्रक्रियामा रहेको छ । यसैगरी अर्को आयोजना पर्यटकीय क्षेत्र कास्कीको पोखरामा समेत विस्तार गरिदैछ ।
जग्गा विकास आयोजना गर्दा आफ्नो जग्गासंगै स्थानीय जग्गा धनीलाई समेत सहभागी गराउदै आइएको छ । सरकारी मापदण्ड पूरा गर्दै नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्रधिकरण र स्थानीय निकायसंग समेत समन्वय गर्दै आफ्नो आयोजनालाई अगाडि बढाउदै आएको छ ।
लुम्बिनि बिकास बैक लिमिटेडले लिजेण्ड प्रोपर्टी ग्रुपसँग विगत ५ बर्षदेखि सहकार्य गर्दै आएको छ । लिजेण्डले २०७१ सालमा भक्तपुरको हेलमेटडाडा जग्गा विकास आयोजना बनाएको हो । हाल लिजेण्डले काडमाण्डौंको दर्क्षिणकाली नगरपालिकाको चाश्ङलाखेलदेखि भक्तपुर हुदै काभ्रे र पोखरामा आयोजना विस्तार गरिरहेको छ ।
लिजेण्ड प्रोपर्टी प्राइभेट लिमिटेडले सरकारी मापदण्ड पूरा गर्नु पर्दछ भन्ने कुरामा सजक रहदै सरोकारवाला सबै पक्षसँग सार्वजनिक सुनुवाई गर्दै जग्गा विकास आयोजना निर्माण गर्दै आएको छ ।