
सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ ।
काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि पुग्ने गरेका छन् । मोदी गाउँपालिका- २ देउपुरमा चार वर्षअघिसम्म सहकारी मार्फत बिक्री गर्दै आए पनि पछिल्ला वर्षहरूमा भने कृषकले आफ्नै ढङ्गले व्यापारीसँग कारोबार गर्ने गरेका छन् ।
पहिले माछापुच्छ्रे सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि अहिले निजी हिसाबले नै बिक्री गर्न थालेका अगुवा कृषक दाताराम चापागाँईले जानकारी दिनुभयो ।
सुन्तला टिप्नका लागि व्यापारीका प्रतिनिधिहरूको चहलपहल बढ्दो छ । स्थानीय शिक्षक भूमिराज शर्मा सुन्तला टिप्ने र लैजानेहरूका कारण गाउँमा मेला जस्तै हुने गरेको र थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको बताउनुभयो ।
देउपुरका धेरैजसो सुन्तला यसपटक पोखरा पुगेका छन । केही नारायणगढ, काठमाडौँ र बुटवल तथा स्थानीय बजारमा बिक्री हुने गरेका छन् ।
स्थानीय ख्यामराज पौडेलले गत वर्ष पाँच लाखको सुन्तला बिक्री गर्नुभएको थियो । एक वर्ष बढी उत्पादन भयो भने अर्को वर्ष कम उत्पादन हुने भएकाले यसवर्ष केही कम कारोबार हुने उहाँको भनाइ छ ।
अधिकांश किसानले व्यापारीलाई बगैँचा नै जिम्मा लगाउने गरेका छन् । जिल्लाबाट करिब पाँच करोडका सुन्तला बिक्री अनुमान गरेको किसान बताउँछन् ।
एक सय ६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । गाउँमा पक्की मोटरबाटोको सुविधा पुगेपछि सुन्तला खेतीतर्फ थप आकर्षण बढ्दै गएको छ ।