काठमाण्डौँ , पुस १६ :

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरुलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । 

सडक बोर्ड नेपालको २२ औँ स्थापना दिवसका अवसरमा आज बोर्डमा आयोजित कार्यक्रममा उहाँले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । अब बन्ने संरचनाहरुले देशको समृद्धि यात्रामा कति महत्व राख्छन् भन्ने विषयलाई ध्यान दिन जरुरी रहेको उहाँको भनाइ थियो । 

नेपाल अझै पनि विकास निर्माणकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले अब बन्ने संरचनाहरुलाई दिगो, सुरक्षित र उपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

जनजीविका, राजस्व सङ्कलन, आर्थिक क्रियाकलाप तथा बृहत् जनसङ्ख्या र भूगोललाई प्रत्यक्ष फाइदा पुर्याउने योजनाहरूमा मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री दाहालले अब कुनै पनि संरचना निर्माण गर्दा प्राथमिकता निर्धारण गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा मन्त्री दाहालले सडक बोर्ड अन्तर्गतका रुग्ण ठेक्काहरुको शीघ्र व्यवस्थापन गर्न निर्देशन दिँदै सडक मर्मतसँगै अनुगमनलाई समेत प्रभावकारी बनाउन आग्रह गर्नुभयो । 

त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले आर्थिक वृद्धिको प्रमुख आधार सडकसमेत भएकाले आर्थिक विकास र वृद्धिलाई सहयोग पुग्नेगरि सडक सञ्जाल विस्तार गर्नुपर्ने बताउनुभयो । 

पूर्वाधारमा गरिएको लगानीले दीर्घकालीन प्रतिफल दिने भएकाले कुनै पनि पूर्वाधार तथा संरचना निर्माण गर्दा स्थायित्व र गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।