तनहुँ, पुस १८ :

बन्दीपुर भ्रमण वर्ष २०२५ सुरु भएको छ ।

ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित भ्रमण वर्ष कार्यक्रमको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले शुभारम्भ गर्नुभएको हो ।

भ्रमण वर्षका क्रममा बन्दीपुर- छिम्केश्वरी- मनकामना- गोरखा मन्दिर- लिगलिगकोट- भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको छ ।

भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बास बसेर खर्च गर्न सक्ने पर्यटक भित्र्याउने लक्ष्य लिइएको जानकारी दिनुभयो । 

भ्रमण वर्षका अवसरमा एक वर्षमा २४ सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने उहाँको भनाइ छ। 

बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन, अनुसन्धान गरी तिनीहरूको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रियस्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने भ्रमण वर्षको उद्देश्य रहेको जनाइएको छ । 

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ । 

बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेकोमा त्यसलाई दोब्बर बनाउँदै स्थानीय पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य सहित भ्रमण वर्ष आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । 

कार्यक्रममा सांसद भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।