
विश्व बैङ्कको सहयोगमा बागलुङ नगरपालिकाभित्र तीनवटा सडक धमाधम स्तरोन्नति भइरहेका छन् ।
स्तरोन्नति भइरहेको नगरपालिकाका तीन सडकको भौतिक प्रगति ६ महिनामा २५ प्रतिशत पुगेको छ । जिल्लाकै सबैभन्दा बढी लागतमा उक्त सडक कालोपत्र हुँदैछन् ।
विश्व बैङ्कको अनुदानमा उक्त सडकको स्तरोन्नति अहिले धमाधम भइरहेको छ । असारबाट काम थालिएको उक्त सडकमा अहिले सयौँ उपकरण र श्रमिक परिचालन गरिएको छ ।
बागलुङ नगरपालिका- ७ को मूलपानीबाट तितौरेसम्मको ८.६ किलोमिटर, वडा नम्बर ४ स्थित ओडारचौरबाट ढोडेनीसम्म २ दशमलव २ किलोमिटर र वडा नम्बर १ रामरेखास्थित गणेशथान घुम्तीबाट नीरयघाटको १ दशमलव ५ किमी सडक एकसाथ कालोपत्रका लागि स्तरोन्नति भइरहेको छ ।
तीनवटै सडक एकसाथ कालोपत्र भएमा नगरका स्थानीयलाई आवतजावतमा सहज हुनेछ । उक्त सडक हालसम्मकै नमूना हुनेगरि स्तरोन्नति सहित कालोपत्र गर्न विश्व बैङ्कले बागलुङ नगरपालिका सहित देशभरका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको छ ।
अबको चार महिनामा पूर्वाधार तर्फको काम सकेर कालोपत्रको तयारी गर्ने निर्माण व्यवसायी तर्फका इन्जिनियर मनोज शर्माले जानकारी दिए। शर्माका अनुसार एक वर्षको ठेक्का सम्झौता रहेको उक्त सडक आगामी असार मसान्तभित्र कालोपत्र सक्नुपर्ने छ ।
स्तरोन्नतिसँगै सडक कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवासँग २०८१ जेठ २३ गते एक वर्षमा सम्पन्न गर्नेगरी ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको थियो । तीनवटै सडकको लम्बाइ जम्मा १३ किमी छ ।
वि. सं २०७७ मा विश्व बैङ्क र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भए पनि गत जेठमा मात्र ठेक्का सम्झौता भएको थियो । विश्व बैङ्कको अनुदान सहयोगमा नगरपालिकाभित्रका तीन सडक नमूना बनाइने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।
नगरपालिका र विश्व बैङ्कको सम्झौता अनुसार ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्ने उल्लेख गरिएको भए पनि ठेक्का सम्झौतामा जादा ४९ करोड २२ लाख पुगेको थियो ।
उक्त सडक प्रविधिमैत्री हुनुका साथै आठ मिटर चौडा हुनेछन् ।