
फाइल फोटो
गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख युरो सहयोग गर्ने भएको छ ।
यसका लागि धुलिखेल नगरले गत कात्तिक पहिलो साता नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनः निर्माणका लागि प्रस्ताव गरेको थियो ।
प्रस्तावित विषयमा जर्मन सहयोग नियोग (जिआइजेड) मार्फत नेपालस्थित दूतावासले एक करोड ४२ लाख २५ हजार रकम सहयोग गर्न नगर प्रमुख अशोक ब्याञ्जू र जिआइजेडका तर्फबाट तीर्थ सिन्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार केही दिनमै धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सहयोग रकम प्रदान गरिने नगरप्रमुख ब्याञ्जूले जानकारी दिए।
उक्त रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनः निर्माण गरिनेछ । बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको वडा नं ३, ४, ५, ६ र ८ का उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालयमा हालसम्म खानेपानी आपूर्तिमा समस्या कायम छ ।
यसबीचमा क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनः निर्माणपछि नगरमा पानी वितरण भएको छ । बाढीपहिरोले तीन दशकअघि देखि सञ्चालनमा रहेको उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो ।
समितिका अध्यक्ष कृष्णभूषण श्रेष्ठले तत्काल अस्थायी रूपमा आयोजना मर्मत गर्न हालसम्म १९ लाख ७९ हजार खर्च गरिएको बताए । आयोजनाको स्थायी पुनः निर्माणका लागि करिब तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।