बागलुङ, साउन २८ :

बाढी पहिरोका कारण बागलुङको बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका-९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । 

केहि दिन अघिको पहिरोमा परी ११ जनाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात रहेको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुन सकेको छैन । बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिनुभयो ।  

स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो पोख्नुभयो । आफ्नो घर वरपरका धेरै बस्ती पहिरोको जोखिममा रहेको उहाँले बताउनुभयो । 

विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष वनले जानकारी दिनुभयो । गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको उहाँले बताउनुभयो । पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अतिआवश्यक सामग्री उपलब्ध गराएको भन्दै दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेको पनि उहाँले बताउनुभयो ।