काठमाडौँ, पुस २२ :

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीव्र आर्थिक विकासका लागि स्रोतको अभाव रहेको भन्दै भन्दै बीआरआईबाट लगानी भित्र्याउन सहयोग पुग्ने बताएका छन् ।

‘जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न, तीव्र आर्थिक विकास गर्दै विकासशील देशमा स्तरोन्नति गर्न, दिगो विकास लक्ष्य हासिल गर्न नेपाललाई यथाशक्य छिटो मध्यम आय भएको मुलुकमा माथि उठाउन हामीलाई स्रोतको अभाव छ,’ आइतबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा ओलीले पेस गरेको राजीतिक प्रतिवेदनमा प्रतिवेदनमा भनिएको छ, ‘त्यसैले हामी नेपालको राष्ट्रिय प्राथमिकताका क्षेत्रमा, राष्ट्रिय हितको सुनिश्चितता गर्दै अन्य विकास साझेदारहरूसँग पनि यस्तै साझेदारी अभिवृद्धि गर्न चाहन्छौँ। लगानी भित्र्याउन चाहन्छौँ ।’ 

चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको साझा धारणाले अस्थिरता चाहनेहरूको योजना विफल बनाइदिएको ओलीको दाबी छ । 

‘यसले वाह्य सम्बन्ध र सहायता परिचालनमा सिङ्गो राष्ट्रको एउटै बोली बनाउन र वार्ताको टेबलमा राष्ट्रिय अडान बलियो बनाउन मद्दत पुऱ्याएको छ,’  प्रतिवेदनमा भनिएको छ, ‘संवेदनशील विषयमा सत्ता सहकार्यमा विभाजन ल्याएर पुनः अस्थिरताको खेती गर्न चाहनेहरूको योजना पनि यसले विफल तुल्याइदिएको छ।’

बीआरआईको ढाँचामा भएको सहमतिलाई ओलीले विशेष महत्वको भनेका छन् । ‘यस सन्दर्भमा हस्ताक्षर भएको बीआरआई सहयोग ढाँचाको विशेष महत्व छ,’ उनको प्रतिवेदनमा भनिएको छ, ‘कनेक्टिभिटी र पूर्वाधार निर्माणमा टेवा पुऱ्याउँदै भूपरिवेष्ठितले सिर्जना गरेका नेपालका अप्ठ्यारालाई चिर्न र नेपालको पारवहन सुविधाको विविधीकरण, व्यापार सहजीकरण र लगानी अभिवृद्धिमा यसले टेवा पुऱ्याउने विश्वास लिइएको छ ।’