काठमाडौं, पुस २३ :

नेपाल मुद्रा विप्रेषक संघको १९औं वार्षिक साधारणसभाले रितेश मित्तलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

काठमाडौंमा भएको साधारणसभाले उपाध्यक्षमा सञ्जय सिग्देल (सूर्य रेमिट प्रालि), महासचिवमा दिवाकर पौडेल (आइर्एई लिमिटेड), कोषाध्यक्षमा सञ्जीवकुमार पाठक (एटीटी रेमिट प्रालि), सचिवमा रामेश्वर सापकोटा (प्रभु मनी ट्रान्सफर प्रालि) सर्वसम्मत चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरूमा विमल महत (सिद्धार्थ बैंक लि.), श्यामप्रसाद लामिछाने (ग्लोबल आईएमई बैंक लि.), मधुसूदन न्यौपाने (प्रभु बैंक लि.) र सुदन सिंह सिलवाल (युनाइटेड रेमिट प्रालि) सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा चयन भएका मित्तल (नेपाल रेमिट इन्टरनेसनल प्रालि) मा आबद्ध छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मित्तलले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दै विस्तारित र मर्यादित उद्योगका रूपमा विकास गर्ने र सम्पूर्ण रेमिट्यान्स कम्पनीहरूको संस्थागत हितका लागि काम गर्ने प्रतिबद्धता जनाए । रेमिट्यान्स व्यवसायलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउन आफू लागिपर्ने उनको प्रतिबद्धता छ ।

साधारणसभामा पूर्वपदाधिकारीहरूलाई सम्मान पनि गरिएको थियो ।