काठमाडौं, पुस २४ :

माघको पहिलो दिन अर्थात् माघे संक्रान्ति । यो दिनमा पुसमा पकाएर माघमा खाने चलन छ । माघे संक्रान्तिमा विशेषतः चाकु खाने चलन छ ।

माघे संक्रान्तिका दिन विशेष रूपमा घिउ, चाकु र तिलको लड्डु खाने गरिन्छ । यसमा नरिवल, काजुलगायत पनि बाहिरबाट टाँस्ने गरिन्छ । जसले गर्दा चाकुलाई थप स्वादिलो बनाउँछ । मसलादार चाकुमा नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइन्छ  । 

माघे संक्रान्तिको आगमनसँगै टोखाका व्यवसायीहरु चाकु उत्पादनमा व्यस्त छन् । पर्वलाई लक्षित गरेर यतिबेला राजधानीका विभिन्न स्थानमा चाकु बनाउने चटारो देखिन्छ । चाकुका लागि टोखा प्रख्यात छ । टोखामा बनाइने चाकुलाई माघे संक्रान्तिमा विशेष महत्त्व दिइँदै आएको छ । टोखालाई चाकुको पकेट क्षेत्रसमेत मानिँदै आएको छ ।

काठमाडौं उपत्यकाका असन, इन्द्रचोक, हरिसिद्धी, भक्तपुर, पाटन, कीर्तिपुरलगायत क्षेत्रमा पनि चाकु बनाइन्छ । तर उपत्यकाको ८० प्रतिशतभन्दा बढी चाकुको माग टोखाले पूर्ति गर्छ ।

टोखास्थित कृष्ण चाकु प्रोडक्सनका सञ्चालक कृष्णबहादुर श्रेष्ठले दैनिक ५०० किलो सखरको चाकु बनाउने गरेको जानकारी दिए । चाकु बनाउन उनको उद्योगमा अहिले झन्डै २० जना कामदार सक्रिय छन् ।

यसरी बनाइन्छ चाकु
तामाको ठूलो भाँडामा सखर-पानी उमाल्ने र बाक्लो भएपछि त्यसलाई भाँडोमा खन्याउनुपर्छ । चिसो भइसकेपछि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर धेरैपटक तान्नुपर्छ । त्यसपछि त्यसलाई स-साना भाग बनाएर चाकुको आकारमा राखिन्छ । चाकुमा आवश्यकताअनुसार अन्य कुरा पनि मिसाउन सकिन्छ । अहिले चाकु बनाउनका लागि मेसिनको प्रयोग समेत गरिँदै आएको व्यवसायीहरु बताउँछन् ।

हेर्नुहोस् थप तस्बिर :