काठमाडौं, पुस २५ :

महालक्ष्मी विकास बैंकको दमक शाखाले सरस्वती मावि झापाले सञ्चालन गरेको अटिजम सिकाइ केन्द्रलाई सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको छ । बैंकले अटिजम भएका विद्यार्थीको शैक्षिक क्रियाकलाप थप प्रभावकारी बनाउन एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको छ ।

विद्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानाध्यापकलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । विद्यालयमा अहिले अटिजम भएका २४ विद्यार्थीले यसबाट लाभ लिने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्यजस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्दै आएको छ । यही नीतिअनुरुप बैंकले विद्यालयमा सहयोग गरेको हो ।

बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने भन्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको पनि जनाएको छ ।