
यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ ।
लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन ।
शीतलहरका कारण ११ वर्षको अवधिमा एक सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७९ पुस १३ (११ वर्ष) मा एक सय १६ जानाले ज्यान गुमाएका हुन् ।
प्राधिकरणको तथ्याङ्कानुसार शीतलहरका कारण सबैभन्दा बढी रौतहटमा ६३ जनाले ज्यान गुमाएका छन् । सप्तरीमा १९, महोत्तरीमा १५, सिराहामा ११, धनुषमा चार, बारामा दुई र झापा र नवलपरासीमा एक- एक जना गरी एक सय १६ जनाको मृत्यु भएको छ ।
प्राधिकरणको तथ्याङ्कानुसार २०६८ साल वैशाखदेखि चैतसम्ममा मात्र ६६ जनाको मृत्यु भएको थियो । यसैगरी २०७४ मा ४८ जनाको शीतलहरका कारण मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।
वि. सं २०६८ र २०७४ बाहेक अन्य वर्षमा शीतलहरकै कारण मृत्यु नभए पनि आगो, हिटर ताप्दा भने सर्वसाधारणको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
शीतलहरको जोखिम भएका क्षेत्रमा जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम जस्तै बाक्लो लुगा, कम्बल वितरण प्रभावकारी गर्न नसक्नु, पूर्वतयारीमा राज्यको लगानी न्यून रहनु तथा शीतलहरबाट सर्वसाधारणलाई बचाउन पर्याप्त तयारी नहुँदा कयौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ ।
पछिल्लो समय भने शीतलहरकै कारण मृत्यु भए पनि पुष्टि गर्न झन्झटिलो बनेको छ । अब भने कुनै अस्पतालले शीतलहरकै कारण मानिसको मृत्यु भएको हो भन्ने कुरा कुनै अस्पतालको डाक्टरबाट नै पुष्टि हुनुपर्ने बताउँछन् प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराई ।
“पछिल्ला वर्षहरूमा शीतलहरका कारण मृत्यु भएको तथ्याङ्क छैन, अबचाहिँ डाक्टरले नै शीतलहरका कारण मृत्यु भएको हो भनेर पुष्टि गरेमा मात्रै तथ्याङ्क रहने भयो”, उनले भने, “शीतलहरकै कारण मृत्यु भएको हो भनेर पुष्टि गर्न गाह्रो भएपछि चिकित्सकले नै पुष्टि गर्नुपर्ने व्यवस्था गरिएको हो । नत्र चिसोमा अन्य कारण पनि मृत्यु हुन्छ । निमोनिया, हृदयघात तथा अन्य रोगका कारण पनि मृत्यु हुनसक्छ ।”
उनका अनुसार शीतलहरमा न्यानाे कपडा वितरण गर्ने जस्ता पूर्वतयारीको जिम्मा स्थानीय तहलाई दिइएको छ । स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुपर्ने भट्टराईको भनाइ छ ।
तराईमा शीतलहरको अवस्था आएमा सूचना प्रवाह गरिने बताउँछिन् जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल ।
प्रभावित जिल्ला
प्राधिकरणका अनुसार बढी प्रभावित जिल्लामा सुनसरीको दक्षिणी भाग, सप्तरी, सिरहा, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासीपश्चिम र कपिलवस्तु गरी ११ जिल्ला छन्भने झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्ला भने कम प्रभावितमा पर्छन् ।
दाउरा वितरण
वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव उद्धवबहादुर घिमिरेले उक्त प्रदेश अन्तर्गत आठ जिल्लाका डिभिजनल वन कार्यालयलाई प्रभावित क्षेत्रमा दाउरा वितरणका लागि निर्देशन दिइएको जानकारी दिए ।
प्रभावित क्षेत्रमा दाउरा वितरणका लागि आठ जिल्लामा रू १०–१० लाख पठाइएको उनले बताए । यसबाहेक पनि डिभिजनल वन कार्यालयले मानिस भेला भएर ताप्नका लागि समूहमा दाउरा वितरण गरिरहेका जनाएको छ ।
जलवायुको असर
जलवायुविद् मञ्जित ढकालले जलवायु परिरवर्तनको असरका कारण मौसममा अनियमितता हुने र शीतलहरका असर बढ्नेजस्ता समस्या उत्पन्न हुने बताए उनुभयो । तापमान वृद्धिका कारण गर्मी मात्र बढ्छ भन्ने होइन, चिसोमा धेरै चिसो र तातोमा धेरै गर्मी हुने उनको भनाइ छ ।
मौसम पूर्वानुमान माहाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले अहिलेसम्म शीतलहरको अवस्था देखा नपरेको भन्दै शीतलहरको अवस्था आए बुलेटिन प्रकाशन गर्ने बताए ।
यदि भिजीबिलिटी दुई दिनसम्म १५ सय मिटरभन्दा कम भयो र अधिकतम् र न्यूनतम तापक्रम पाँच डिग्र्री सेल्सियसको फरक दुई वा सोभन्दा बढी दिन भएमा शीतलहर घोषणा गर्ने मापदण्ड रहेको उनले बताए ।