
खाली कन्टेनर नहटाइँदा वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’ भरिभराउ बनेको छ ।
कोभिड–१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्ड खाली कन्टेनरले भरिएको हो । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बन्दगाहको भन्सार यार्डमा एक हजार पाँच सय ७६ खाली कन्टेनर हुँदा ठाउँ व्यवस्थापन गर्न समस्या भएको जानकारी दिनुभयो ।
दुई सय कन्टेनरमा भने लिलामी गर्नुपर्ने विभिन्न सामान तथा उपकरण रहेको उहाँले बताउनुभयो ।
प्रमुख भन्सार अधिकृत बरुवालले खाली रहेका कन्टेनर लैजानका लागि र्याक खाली भएको कार्गो रेल आएमा सहज हुने बताउनुभयो । कार्गो रेलले एकपटकमा कम्तीमा पनि ६० कन्टेनर ओसार्न सक्ने क्षमता रहेको उहाँको भनाई छ ।
बरुवालले नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टलाई खाली भएका कन्टेनर हटाउनका लागि छलफल गर्दै आइरहेको पनि जानकारी दिनुभयो ।