म्याग्दी, पुस २९ :

बेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सुरु भएको छ ।

माघेसङ्क्रान्ति पर्वको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव सुरु भएको हो ।

चीन र भारतको व्यापारिक प्राचीन रेशमी मार्ग र ‘साल्ट ट्रेड रुट’का रूपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख व्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताउँदै उनले १० करोड बराबरको व्यापारिक कारोबार हुने अनुमान गरिएको जानकारी दिए ।

जिल्लाको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग व्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, पर्यटन प्रवर्द्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको उनले बताए ।